काठमाडौं । विनयराज पौडेलको निर्देशनमा बनेको नेपाली चलचित्र ‘अक्षरा’को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटल इन्टरटेन्मेन्टले खरिद गरेको छ।
डिजिटल अधिकारसम्बन्धी सम्झौतापछि चलचित्रका गीत, ट्रेलर तथा अन्य डिजिटल सामग्री सोही प्लेटफर्ममार्फत सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। निर्देशक पौडेलका अनुसार चलचित्रको युट्युब प्रतिलिपि अधिकारसमेत बिक्री भइसकेको छ।
यसैबीच निर्माण पक्षले चलचित्रको आधिकारिक प्रदर्शन पोस्टर सार्वजनिक गरेको छ। ‘कतिञ्जेल नारीले मात्र आफ्नो घर, थर सार्नुपर्ने? अरूलाई खुसी पार्ने बहानामा सधैं आफैं हार्नुपर्ने’ भन्ने भावलाई केन्द्रमा राखिएको चलचित्र स्वर्गीय परीक्षित ढुङ्गानाको सम्झनामा निर्माण गरिएको हो।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा सोनी थापा (ढुङ्गाना)को प्रस्तुतिमा बनेको चलचित्रमा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी छ। सुरज थापा काजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुन्।

चलचित्रको मुख्य भूमिकामा न्यान्सी खड्का र सुशील सिटौला छन्। न्यान्सी यसअघि ‘१२ गाउँ’मा अभिनय गरेकी थिइन्। चलचित्रमा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाहालगायत कलाकारको अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रिसा ढुङ्गाना रहेका छन्।
चलचित्रको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार गरेका छन्। सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर रहेको छ। चलचित्रको तीज विशेष गीत ‘नाचौँ न बरिलै’ यसअघि नै सार्वजनिक भइसकेको छ।
दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन र गौतम खड्काको सम्पादन रहेको चलचित्रको देशव्यापी वितरण नेसनल सिने ग्रुप नेपालमार्फत दीपक दङ्गालले गर्नेछन्।
‘अक्षरा’ आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। चलचित्रले नारी जीवनका संघर्ष, त्याग, आत्मसम्मान, प्रेम र पारिवारिक सम्बन्धका विविध आयामलाई प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ।






