काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आठवटा विमानस्थलबाट हुने उडान अस्थायी रूपमा रोकिँदा करिब १ लाख ७० हजार यात्रु प्रभावित भएका छन्।

इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार ज्वालामुखीको गतिविधिका कारण हालसम्म १ हजार ५५८ वटा उडान ढिला भएका छन्। प्रभावित विमानस्थलहरू स्थानीय समयअनुसार सोमबार बिहान ९ बजेसम्म बन्द रहने जनाइएको छ।

ADVERTISEMENT

आइतबार बिहान जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा पहिले बन्द गरिएको थियो। विमानस्थलनजिकैको आकाशमा अनाक क्राकाटोआ ज्वालामुखीको खरानी भेटिएपछि उडान रोक्ने निर्णय गरिएको हो।

ADVERTISEMENT

अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोट शुक्रबार रातिदेखि सुरु भएको थियो। त्यसपछि आसपासका क्षेत्रमा लगातार भूकम्पजस्तो गतिविधि देखिएको थियो। ज्वालामुखीबाट लाभाका फोहरा निस्कनुका साथै शक्तिशाली विस्फोटका आवाजसमेत सुनिएका थिए।

आइतबार बिहान थप दुईवटा विस्फोट भएपछि विमानस्थलबाट हुने उडानमा थप असर परेको हो। यातायात मन्त्रालयका अनुसार उडान सञ्चालन रोकिँदा मुख्य रूपमा सिंगापुर जाने–आउने उडान प्रभावित भएका छन्। त्यस्तै दोहा, सिड्नी र क्वालालम्पुरलगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यका उडानसमेत प्रभावित भएका छन्।

ADVERTISEMENT

ज्वालामुखीबाट निस्किएको खरानीले विमानको इन्जिन तथा उडान सुरक्षामा जोखिम निम्त्याउन सक्ने भएकाले प्रभावित क्षेत्रमा हवाई सेवा अस्थायी रूपमा रोकिएको हो।