जकार्ता । इन्डोनेसियामा हिंसात्मक विरोध प्रदर्शनपछि कम्तीमा २० जना बेपत्ता भएका छन् । कानुन निर्माताहरूको सुविधाको विषयलाई लिएर प्रहरीविरुद्ध आक्रोश पोख्दै भएको हिंसात्मक विरोध प्रदर्शनपछि उनीहरू बेपत्ता भएको जनाइएको छ ।

गत हप्ता दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा भएको विरोध प्रदर्शन अर्धसैनिक प्रहरीले एक युवा डेलिभरी ड्राइभरको हत्या गरेको भिडियो सार्वजनिक भएपछि भड्किएको थियो । यस क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको थियो ।

‘सेप्टेम्बर १ सम्म २३ जना बेपत्ता भएको रिपोर्ट आएको थियो । खोजी र प्रमाणीकरणपछि २० जनाको अवस्था अझै अज्ञात छ’, बेपत्ता र हिंसाका पीडितका लागि आयोग (कन्ट्रास) ले जारी गरेको विज्ञप्तिमा छ ।
जाभा टापुको बान्दुङ र देपोक सहरका साथै राजधानी क्षेत्रअन्तर्गत मध्य, पूर्वी र उत्तरी जकार्तामा ती व्यक्तिहरू बेपत्ता भएको समूहले जनाएको छ । एक घटना भने ‘अज्ञात स्थान’ मा भएको बताइएको छ ।
जकार्ताका मेट्रोपोलिटन प्रहरी प्रमुख एसेप एडी सुहेरीले सोमबार पत्रकार सम्मेलनमा अगस्ट २५ यता राजधानीमा भएको प्रदर्शनमा एक हजार दुई सय ४० जना पक्राउ परेको बताएका थिए ।

देशभरका सहरहरूमा फैलिएको असन्तुष्टिपछि राष्ट्रपति प्रबोवो सुबिआन्तो सांसदका सुविधाबारे पुनर्विचार गर्न बाध्य भएका छन् । उनी सत्तामा आएपछि यसअघि भएका सबैभन्दा ठूलो विरोध प्रदर्शन यिनै हुन् ।
मंगलबार संसद् अगाडि महिला समूहहरूको गठबन्धनले थप प्रदर्शन गर्ने तयारी गरिरहेको थियो । यसअघि उनीहरूले सोमबारको प्रदर्शन भने रद्द गरेका थिए । संयुक्त राष्ट्रसंघले पनि प्रदर्शनका क्रममा ‘असमान बल प्रयोग’ भएको आरोपमा छानबिन गर्न आग्रह गरेको छ ।

सुमात्राको पालेम्बाङ, बोर्नियोको बानजारमासिन, जाभाको योग्याकार्ता र सुलावेसीको मकास्सरमा सयौँदेखि हजारौँसम्म प्रदर्शनकारी सडकमा उत्रिएका थिए । सुलावेसीकै गोरोन्टालो सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो ।