हेटौँडा । करिब पाँच घण्टादेखि अवरुद्ध रहेको त्रिभुवन राजमार्ग पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियता तथा सम्बन्धित सुरक्षा निकायको समन्वयमा राजमार्ग सञ्चालनमा ल्याइएको हो।

राजमार्ग अवरुद्ध भएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशी घटनास्थलमै पुगेर सडक खुलाउन पहल गरेका थिए।

ADVERTISEMENT

सडक सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु बिष्ट तथा सशस्त्र प्रहरी बल मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक निमन खड्कासहित सुरक्षाकर्मी परिचालन गरिएको थियो।

ADVERTISEMENT

प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सम्बन्धित निकायबीचको निरन्तर समन्वयपछि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको हो।

सडक अवरुद्ध हुँदा लामो समयदेखि बाटोमै रोकिएका यात्रु तथा सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा निःशुल्क खानासमेत वितरण गरिएको थियो।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी अधिकारीले राजमार्ग खुलाउन प्रशासन रातदिन नभनी निरन्तर खटिएको बताएका छन्। विपद् तथा सडक अवरोधका बेला प्रशासनिक कार्यालयमा मात्र सीमित नभई घटनास्थलमै पुगेर व्यवस्थापन तथा सडक सञ्चालनका लागि पहल गरिएको उनको भनाइ छ।

राजमार्ग सञ्चालनमा आएपछि लामो समयदेखि अलपत्र यात्रु तथा सवारीसाधनलाई गन्तव्यतर्फ अघि बढ्न सहज भएको छ।