बाजुरा । बाजुराको वीरेखोला झरनामा भीषण बाढी आउँदा २३ परिवार विस्थापित भएका छन्। शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएको हो।

स्थानीयका अनुसार पहिरोले खोला थुनिएर बनेको ताल फुटेपछि एक्कासि बाढी आएको हो। सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोला झरनाबाट आएको बाढी गाउँको बीचबाट बगेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ।

ADVERTISEMENT

बाढीका कारण मानवीय क्षति नभए पनि २३ परिवार विस्थापित भएका छन्। स्थानीयका अनुसार थप १८ परिवारसमेत जोखिममा छन्। विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको बडीमालिका नगरपालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार बाढीबाट ४१ परिवार प्रभावित भएका छन्। बाढीले एक माछापोखरी, दुई वटा पानीघट्ट तथा वीरेखोला झरनाको टिकट काउन्टरमा क्षति पुर्‍याएको छ।

यस्तै, बाढीले किसानको धानबाली बगाउनुका साथै खेतीयोग्य जमिनलाई बगरमा परिणत गरेको छ। स्थानीय लालसिंह साउँदका अनुसार एक्कासि ठूलो बाढी आएपछि स्थानीय घर छाडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्।

ADVERTISEMENT

विस्थापित परिवारलाई तत्काल खाना र बसोबासको समस्या रहेको उनले बताए।