काठमाडौँ । नुवाकोट र रसुवा क्षेत्रमा हिमताल विस्फोट भई भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने भन्दै फैलिएको हल्लाप्रति बाढी पूर्वसूचना केन्द्रले ध्यानाकर्षण गराएको छ।
केन्द्रले हालसम्म प्राप्त तथ्याङ्क र सूचनाका आधारमा तत्काल ठूलो बाढी आउने सम्भावना नरहेको स्पष्ट पारेको छ। चिनियाँ समकक्षी निकायसँग निरन्तर सम्पर्कमा रही नदीको अवस्था र सम्भावित जोखिमबारे नियमित अनुगमन भइरहेको केन्द्रले जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट हिमताल विस्फोट भएको र भोटेकोशीमा पुनः ठूलो बाढी आउन सक्ने सूचना फैलिएपछि सर्वसाधारणबाट व्यापक सोधपुछ भएको थियो। त्यसपछि केन्द्रले वास्तविक अवस्था स्पष्ट पार्दै असम्पुष्ट तथा भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरेको हो।
केन्द्रका अनुसार जलसतह बढ्ने वा बाढीको जोखिम देखिएमा सम्बन्धित नदी तटीय क्षेत्रका बासिन्दालाई मोबाइलमा एसएमएसमार्फत तत्काल पूर्वसूचना पठाइनेछ।
यसअघि भदौ १० गते रसुवा हुँदै भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको आकस्मिक बाढीले ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको थियो। उक्त बाढीको कारणबारे गरिएको प्रारम्भिक अध्ययनमा हिमचट्टान खस्दा प्राकृतिक रूपमा बनेको अवरोध फुटेर आएको आकस्मिक बाढी हुनसक्ने देखिएको थियो।
थप जानकारीका लागि बाढी पूर्वसूचना केन्द्रको टोल–फ्री नम्बर ११५५ (२) मा सम्पर्क गर्न सकिने जनाइएको छ।








