काठमाडौं । नेपालमा विदेशी लगानीका लागि ठूलो रकम स्वीकृत भए पनि वास्तविक रूपमा भित्रिने रकम भने निकै कम देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा ६४ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भए पनि १२ अर्ब १ करोड रुपैयाँ मात्रै नेपाल भित्रिएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, सो अवधिमा विदेशी लगानीको खुद प्रवाह ७ अर्ब ३० करोड रुपैयाँ रहेको छ । विभिन्न समयमा नेपालमा भित्रिएको विदेशी लगानीमध्ये ४ अर्ब ७० करोड रुपैयाँ फिर्ता बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।
दीर्घकालीन तथ्यांक हेर्दा पनि स्वीकृत लगानी र वास्तविक लगानीबीच ठूलो अन्तर देखिन्छ । सन् १९९५/९६ देखि आर्थिक वर्ष २०८१/८२ सम्म नेपालमा ५ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । तर खुद प्रत्यक्ष वैदेशिक लगानी भने १ खर्ब ७० अर्ब ८६ लाख रुपैयाँ मात्रै रहेको छ । यो स्वीकृत कुल लगानीको २९.६ प्रतिशत हो ।
भारतबाट सबैभन्दा धेरै लगानी
नेपालमा रहेका विदेशी लगानीमध्ये भारत सबैभन्दा ठूलो लगानीकर्ता देखिएको छ । आर्थिक वर्ष २०८१/८२ सम्म भारतको लगानी १ खर्ब ११ अर्ब रुपैयाँ बराबर रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
भारतीय लगानीमध्ये विभिन्न संस्थाको चुक्तापुँजीमा ५७ अर्ब ७९ करोड रुपैयाँ, सञ्चितिमा ४९ अर्ब रुपैयाँ र विभिन्न क्षेत्रले लिएको कर्जाका रूपमा ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।
भारतपछि चीन दोस्रो ठूलो विदेशी लगानीकर्ता हो । चीनको कुल लगानी ३१ अर्ब ४३ करोड रुपैयाँ बराबर रहेको छ । त्यसमध्ये ३० अर्ब ५९ करोड रुपैयाँ चुक्तापुँजी र १० अर्ब ८२ करोड रुपैयाँ कर्जाका रूपमा रहेको छ । चिनियाँ लगानी रहेका संस्थाको सञ्चिति भने ९ अर्ब ९८ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।
भारतको लगानी उत्पादनमूलक क्षेत्रमा बढी केन्द्रित देखिएको छ भने चीनको लगानी विद्युत्, ग्यासलगायत क्षेत्रमा बढी रहेको छ ।
भारत र चीनपछि नेपालमा विदेशी लगानीको हिस्सा बढी रहेका मुलुकमा आयरल्यान्ड, अस्ट्रेलिया र सिंगापुर रहेका छन् । नेपालमा विदेशी लगानी भएका संस्थाहरूले करिब ७५ अर्ब रुपैयाँ बराबरको वैदेशिक ऋण समेत लिएका छन्, जसको ठूलो हिस्सा जलविद्युत् कम्पनीले उपयोग गरेका छन् ।
उत्पादन क्षमता बढ्दा बिक्री र प्रतिफल घट्यो
राष्ट्र बैंकका अनुसार विदेशी लगानी रहेका संस्थाहरूको बिक्री र सेयरमा प्रतिफल केही घटे पनि उत्पादन क्षमता भने बढेको छ ।
यस्ता संस्थाबाट भएको उत्पादन बिक्री अघिल्लो वर्षको तुलनामा ३ अर्ब २० करोड रुपैयाँले घटेर ४ खर्ब ७० अर्ब ८० करोड रुपैयाँ मा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो बिक्री ४ खर्ब ७४ अर्ब रुपैयाँ थियो ।
त्यस्तै, सेयरमा प्रतिफल अर्थात् रिटर्न अन इक्विटी ११.४ प्रतिशतबाट घटेर ११.२ प्रतिशत पुगेको छ । तर उत्पादन क्षमताको उपयोग भने ४७.५ प्रतिशतबाट बढेर ५९.४ प्रतिशत पुगेको प्रतिवेदनले देखाएको छ ।
विदेशी लगानीकर्ताले लगे ३३ अर्ब लाभांश
नेपालमा रहेका विदेशी लगानी भएका संस्थाबाट आर्थिक वर्ष २०८१/८२ मा ३३ अर्ब रुपैयाँ लाभांशका रूपमा बाहिरिएको छ । अघिल्लो आर्थिक वर्ष विदेशी लगानीकर्ताले १२ अर्ब ५७ करोड रुपैयाँ लाभांश लगेका थिए ।
सबैभन्दा धेरै लाभांश उत्पादनमूलक क्षेत्रबाट बाहिरिएको छ । यो क्षेत्रबाट मात्रै विदेशी लगानीकर्ताले २८ अर्ब रुपैयाँ लाभांश प्राप्त गरेका छन् ।
राष्ट्र बैंकले विदेशी लगानीको अवस्थाबारे गरेको सर्वेक्षणमा नेपालमा विदेशी लगानी रहेका ९३१ संस्थामध्ये २६२ वटा संस्थाले सहभागिता जनाएको जनाएको छ ।






