काठमाडौं । भोटेकोसी क्षेत्रमा आएको बाढीपछि प्रभावित ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र पुग्ने उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ ।

सुरुङको मुख अर्थात् पोर्टल क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी ठूला ढुंगा विस्फोट गराएर हटाइएको छ । पाँच दिनमा ठूलो मात्रामा लेदो, बालुवा, ढुंगा तथा बाढीले बगाएर ल्याएका संरचनाका अवशेष हटाइएको छ ।

ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिँदै १६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेशद्वारको निकास क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी ठूला ढुंगा हटाइसकिएको बताएका छन् ।

ADVERTISEMENT

उनका अनुसार भदौ १३ गतेदेखि नियमित रूपमा दुईवटा एक्साभेटर परिचालन गरेर पाँच दिनसम्म निरन्तर काम गरिएको छ । यस अवधिमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकारसम्मका ठूला ढुंगा हटाइएको छ ।

ठूला ढुंगा हटाउन आवश्यकताअनुसार ब्रेकरको प्रयोग गर्नुका साथै विस्फोटक पदार्थ प्रयोग गरेर ढुंगा फुटाउने काम भइरहेको न्यौपानेले बताएका छन् । उद्धार तथा अवरोध हटाउने काम २४सै घण्टा सञ्चालन भइरहेको छ ।

ADVERTISEMENT

सुरुङको मुखको ठूलो भाग सफा
हाल सुरुङको प्रवेशद्वारको माथिल्लो भागभन्दा करिब साढे दुई मिटर तलसम्मको ५० मिटर लामो क्षेत्र सफा गरिएको छ ।

सुरुङको कुल उचाइ करिब साढे पाँच मिटर रहेको छ । अब बाँकी करिब तीन मिटर गहिराइसम्म पहुँच मार्ग तथा पानी निकासको व्यवस्था तयार गर्नुपर्ने उद्धार टोलीको योजना छ । यो काम पूरा भएपछि सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गरिनेछ ।

सुरुङको मुखबाट आँखाले देख्न सकिनेसम्मको भाग पूरै लेदोले भरिएको छ । सुरुङबाट हाल कुनै दबाबबिना करिब दुई लिटर प्रतिसेकेन्डका दरले पानी बाहिर निस्किरहेको छ । सांसद न्यौपानेका अनुसार यसले सुरुङभित्र ठूलो मात्रामा पानी जमेको अवस्था नरहेको संकेत गर्छ ।

सुरुङको प्रवेशद्वारको बाहिरी भागमा गेटको कंक्रिट स्ल्याब, दुईवटा ठूला काठका ठुटा तथा ठूला ढुंगाले अवरोध गरेको पाइएको छ ।यस आधारमा सुरुङभित्र पानी र लेदो प्रवेश गरे पनि बाहिरका ठूला ढुंगा सुरुङभित्र धेरै परसम्म प्रवेश नगरेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

सुरुङभित्रको वास्तविक अवस्था भने अझै यकिन भइसकेको छैन । १६० मिटर लामो सुरुङको करिब ६० मिटरभित्र एउटा मोड रहेको र त्यसपछि पावरहाउसतर्फ उकालो दिशामा जाने संरचना भएकाले सुरुङको भित्री भाग तुलनात्मक रूपमा सुरक्षित र सामान्य अवस्थामा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सांसद न्यौपानेले बताएका छन् ।

तर, उद्धार टोली सुरुङभित्र प्रवेश गरेर प्रत्यक्ष निरीक्षण गरेपछि मात्रै वास्तविक अवस्था स्पष्ट हुने बताइएको छ । घटनास्थलसम्म सडक पहुँच नभएकाले हाल हेलिकोप्टरमार्फत मात्रै आवश्यक सामग्री पुर्‍याउनुपर्ने अवस्था छ । यसले एक्साभेटर तथा अन्य उपकरणको मर्मतका लागि आवश्यक सामग्री ढुवानी गर्न समय लाग्ने चुनौती छ ।

बाढीपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाको सुरुङभित्र फसेका व्यक्तिसम्म पुग्न उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको छ । सुरुङको प्रवेशद्वारमा थुप्रिएको ठूलो मात्राको लेदो, ढुंगा र बाढीले बगाएर ल्याएका संरचनाका अवशेष हटाउँदै उद्धार टोली क्रमशः सुरुङभित्र प्रवेश गर्ने तयारीमा छ ।