काठमाण्डौ – एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ ।
समूह ‘ए’ अन्तर्गतको खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुँदैछ ।
प्रतियोगितामा नेपालले यसअघि सोमबार बहराइनलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ । मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै २ अंक जोडिसकेको छ ।
एसीसीको अंकतालिकाअनुसार समूह ‘ए’ मा नेपाल र मलेसिया दुवैको समान २ अंक छ । तर नेपाल रनरेटका आधारमा अगाडि रहेको छ । यस्तै तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ ।
प्रतियोगितामा १० टोली सहभागी छन् र चार टोली सेमिफाइनलमा पुग्नेछन् । एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन् ।
यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । २ वटै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ । गएको आइतबारदेखि शुरु भएको प्रतियोगिताको फाइनल खेल यही भदौ २७ गते शनिबार हुनेछ ।






