काठमाडौँ – त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौँ–हेटौँडा आवतजावतका लागि वैकल्पिक रुट तथा कार्यतालिका निर्धारण गरिएको छ।
साना सवारीका लागि काठमाडौँबाट फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै हेटौँडा र हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ आउने व्यवस्था गरिएको छ।
ठूला तथा मालवाहक सवारीका लागि काठमाडौँबाट चापागाउँ–भट्टेडाँडा–ठिङ्गन हुँदै हेटौँडा जाने र हेटौँडाबाट भैँसे–पालुङ–टिस्टुङ–नौबिसे हुँदै काठमाडौँ आउने रुट तोकिएको छ। ठूला सवारीले साँझ ६ बजेसम्म ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।
त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन ट्याङ्कर तथा भारी मालवाहक सवारीलाई पुल प्रयोग नगर्न र छेउमा रहेको डाइभर्सन प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।





