काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वन क्षेत्रमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ। बुधबार बिहान सडक भासिएपछि उक्त खण्डमा यातायात सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन तथा दुईपांग्रे सवारीलाई भासिएको सडकखण्डबाटै एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ।

अन्य ठूला तथा साना सवारीसाधनलाई भने नागढुंगा सुरुङमार्ग हुँदै पठाउने व्यवस्था गरिएको सडक विभागले जनाएको छ। सडक भासिएको स्थानको स्थलगत निरीक्षण तथा प्राविधिक अध्ययनका लागि विभागको टोली परिचालन गरिएको छ।

ADVERTISEMENT

प्राविधिक टोलीले सडक भासिनुको कारण तथा क्षतिको अवस्था अध्ययन गरिरहेको विभागले जनाएको छ। अध्ययनपछि आवश्यक मर्मतसम्भारको काम अघि बढाइने र यातायात सेवा सकेसम्म चाँडो पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको विभागको भनाइ छ।

ADVERTISEMENT

सडकको अवस्था र मर्मतसम्भारको कामका कारण यस खण्ड हुँदै यात्रा गर्ने सवारीचालक तथा यात्रुलाई आवश्यक सावधानी अपनाउन तथा ट्राफिक प्रहरीले दिएको निर्देशनअनुसार सुरुङमार्ग वा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

नागढुंगा–नौबिसे सडकखण्ड काठमाडौं उपत्यका प्रवेश तथा बाहिरिने प्रमुख मार्ग भएकाले सडक भासिएपछि यातायात व्यवस्थापनमा थप चाप पर्न सक्ने देखिएको छ।

ADVERTISEMENT