काठमाण्डौ — बाढी प्रभावित क्षेत्रमा पानी तथा खाद्यजन्य रोगसँगै कीटजन्य र संक्रामक रोग फैलिन सक्ने जोखिम बढेकाले स्वास्थ्यविज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
रसुवाको भोटेकोशीमा बाढी आएको एक साता बितिसक्दा प्रभावित तथा विस्थापित नागरिकमा स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सुरक्षित पानी, सरसफाइ र गुणस्तरीय खाद्य सामग्रीमा विशेष ध्यान दिन सुझाव दिएका छन्।
स्वास्थ्यविद् डा. सागर राजभण्डारीका अनुसार बाढीका कारण पानीका मुहान दूषित हुँदा हैजा, झाडापखाला, टाइफाइड र कमलपित्तजस्ता रोग फैलिने जोखिम बढ्छ। पखाला वा बान्ताजस्ता लक्षण देखिए तत्काल उपचार गर्नुपर्ने उनले बताए।
लामो समय पानी जमिरहँदा लामखुट्टे तथा अन्य कीराका लागि अनुकूल वातावरण बन्ने भएकाले कीटजन्य रोगको जोखिम पनि बढ्ने विज्ञहरूको भनाइ छ। त्यस्तै, विस्थापितहरू एउटै स्थानमा धेरै जना बस्नुपर्ने अवस्थाले रुघाखोकी तथा भाइरल ज्वरोजस्ता संक्रामक रोग छिटो फैलिन सक्ने उनीहरूले बताएका छन्।
बाढीपछि थुप्रिएको फोहोर, दुर्गन्ध र मरेका जीवजन्तुको उचित व्यवस्थापन तथा सरसफाइ तत्काल गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। राहत सामग्रीको गुणस्तरमा ध्यान दिन र दाल, गेडागुडी, कोदो तथा गहुँलगायत पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन पनि सुझाव दिइएको छ।
बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा बाढीपहिरोका कारण मानसिक तथा आघातजन्य समस्या देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन्।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले प्रभावित क्षेत्रमा स्थानीयस्तरमै स्वास्थ्यकर्मी, आवश्यक औषधि तथा उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने बताएका छन्।
स्वास्थ्यविज्ञहरूले नागरिकलाई स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, वडा वा पालिकासँग सम्पर्क गर्न आग्रह गरेका छन्।






