काठमाडौं । अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोली आज (शनिबार) भिक्टोरिया सीए-११ विरुद्ध भिड्दै छ।
डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:१५ बजे सुरु हुनेछ।
सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ।
नेपाल चार अंकसहित तालिकाको सातौँ स्थानमा छ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले तीनमा हार र दुईमा जित गरेको छ।
नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेट तथा दोस्रो खेलमा बंगलादेश हाइपरफर्मेन्स-११ विरुद्ध ९ विकेटको हार बेहोरेको थियो।
त्यसपछि नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले तथा चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई ४ विकेटले पराजित गरेको थियो।
पाँचौँ खेलमा भने नेपाल हैदरावाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रनले पराजित भएको थियो।
नेपालले आज भिक्टोरिया सीए-११ लाई हराउँदै प्रतियोगिताको सुखद् अन्त्य गर्ने लक्ष्य राखेको छ।






