काठमाडौँ । प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित नुवाकोटको सदरमुकाम विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेर काठमाडौँ फर्किएका छन्।
प्रधानमन्त्री शाहले नुवाकोट पुगेर बाढीबाट प्रभावित स्थानीय, पीडित तथा घाइतेसँग भेट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएका थिए। उनले उद्धार तथा राहतको अवस्थाबारे पनि सम्बन्धित निकायसँग जानकारी लिएका छन्।
सरकारी स्रोतका अनुसार बिहीबार प्रधानमन्त्रीको नुवाकोट भ्रमणको पूर्वनिर्धारित कार्यक्रम थिएन। तर बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री शाह स्वयं नुवाकोट जाने इच्छा व्यक्त गरेपछि अन्तिम समयमा भ्रमण तय भएको हो।
प्रधानमन्त्री शाह काठमाडौँ फर्किए पनि भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल भने नुवाकोटमै छन्। उनीसहितको टोली नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा पुगेको छ।
नेपाली सेनाले मन्त्री लम्साललाई बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको प्रगतिबारे जानकारी गराएको छ। मन्त्री लम्सालले शीघ्र प्रतिकार्य तथा उद्धारलाई प्रभावकारी बनाउन थप प्रयास गर्न निर्देशन दिएका छन्।
यसैगरी सञ्चारमन्त्री विक्रम तिमिल्सिना बुधबार दिउँसोदेखि नै नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणमा छन्।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नुवाकोटलगायत आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय उद्धार तथा खोजी कार्यमा परिचालित छन्।











