काठमाडौं । रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग जुटाउने अभियान तीव्र भइरहेका बेला प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दा सरकारी रूपमा अधिकृत क्यूआर कोडमार्फत मात्र रकम पठाउन आग्रह गरिएको छ।
बाढीका कारण रसुवागढी तथा आसपासका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएपछि पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग संकलन भइरहेको छ। यस क्रममा विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट सहयोगका लागि भन्दै विभिन्न क्यूआर कोड र बैंक खाताहरू सार्वजनिक हुन थालेकाले आधिकारिक माध्यम पहिचान गरेर मात्र रकम पठाउनुपर्ने आवश्यकता देखिएको छ।
सम्बन्धित पक्षले प्रधानमन्त्री राहत कोषका लागि सार्वजनिक गरिएका अधिकृत क्यूआर कोडलाई मात्र वैध मानेर सहयोग गर्न आग्रह गरेको छ। व्यक्तिगत वा अनधिकृत खातामा रकम पठाउँदा ठगी तथा रकम दुरुपयोगको जोखिम हुन सक्ने भएकाले दाताहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ।
अन्तर्राष्ट्रिय सहयोगका लागि पनि तयारी
विदेशबाट सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई सहज बनाउन अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था समेत छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ। उपलब्ध जानकारीअनुसार स्थानीय खाताहरूमा रहेका भुक्तानी सीमासम्बन्धी अवरोध हटाउने प्रक्रिया अघि बढाइएको छ।
सरकारले विपद्पछिको राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समन्वय केन्द्रहरू स्थापना गर्ने कामसमेत तीव्र बनाइरहेको बताइएको छ। यस्ता केन्द्रमार्फत विदेशबाट आउने राहत, आर्थिक सहयोग तथा अन्य सहायता व्यवस्थित रूपमा समन्वय गर्ने तयारी गरिएको छ।
यी हुन् रसुवागढी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषको आधिकारिक क्यूआरहरु







