काठमाडौं । सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा समेटिएको नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर सम्पन्न भएको छ।
शनिबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा आयोजित प्रिमियरमा सञ्चारकर्मी, शिक्षाविद्, पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधि, कलाकार र दर्शकको उल्लेख्य सहभागिता थियो। तीनवटा विशेष शोमध्ये एउटा शो शैक्षिक क्षेत्रका प्रतिनिधिका लागि आयोजना गरिएको थियो।
निर्देशक निर्मल श्रेष्ठले सगरमाथालाई चिनाउनभन्दा पनि बुझाउन फिल्म निर्माण गरिएको बताए। उनका अनुसार वृत्तचित्रले सगरमाथालाई हिमालका रूपमा मात्र नभई नेपाली साहस, सपना, संघर्ष, पहिचान र भविष्यसँग जोडिएको गौरवका रूपमा प्रस्तुत गरेको छ।
५० मिनेट लामो वृत्तचित्रमा समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको यात्रा, पर्वतारोहणका चुनौती, शेर्पा समुदायको योगदान र जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई समेटिएको छ।
वृत्तचित्रको मुख्य कथामा ५० वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रा रहेको छ। उमेर र व्यक्तिगत सीमालाई चुनौती दिँदै उनले गरेको आरोहणलाई फिल्मले सपना, संघर्ष, आत्मविश्वास र दृढ संकल्पको कथाका रूपमा प्रस्तुत गरेको छ। कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठको समेत सहभागिता रहेको छ।
निर्माण पक्षका अनुसार वृत्तचित्रमा कुनै कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग गरिएको छैन। नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारिएको फिल्मले हिमाली सम्पदाको अन्तर्राष्ट्रिय प्रवर्द्धनसँगै जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ।
नेपाल प्रिमियरपछि वृत्तचित्रलाई देशका विभिन्न स्थानमा प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा सिनेमा हलमा लैजाने तयारी गरिएको छ। निर्माण पक्षका अनुसार यसको अन्तर्राष्ट्रिय प्रिमियर आगामी भदौ २८ गते हङकङमा हुनेछ।











