काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट लिमिटेडबीच सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले प्रचलित कानूनबमोजिम रुपाकोट रिसोर्टलाई भविष्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्न आवश्यक पर्ने सम्पूर्ण परामर्श तथा निष्कासन व्यवस्थापनसम्बन्धी सेवा उपलब्ध गराउनेछ।
एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत विभिन्न क्षेत्रका कम्पनीलाई स्थापना कालदेखि आईपीओ निष्कासनको चरणसम्म पुर्याउन आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ। सोही सेवाअन्तर्गत रुपा–६, मैदान, कास्कीमा कारोबार कार्यालय रहेको रुपाकोट रिसोर्टसँग सम्झौता गरिएको हो।
पोखरा, कास्कीमा अवस्थित रुपाकोट रिसोर्ट पर्यटन तथा आतिथ्य क्षेत्रको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ। हिमाली शृंखलासहित रुपा र बेगनास तालको मनोरम दृश्यावलोकन गर्न सकिने प्राकृतिक तथा भौगोलिक विशेषता रिसोर्टको प्रमुख आकर्षणका रूपमा रहेका छन्।
रिसोर्टले पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य लिएको जनाएको छ।
रिसोर्टमा आवासीय सुविधा, भोजन तथा पेय पदार्थ, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधार उपलब्ध छन्। यसले पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत रिसोर्टलाई उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ।
यसैबीच, एनआईसी एशिया क्यापिटलले निजी कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्कासनसम्मको कार्यमा आवश्यक परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। उक्त सेवा लिन इच्छुक कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई मोबाइल नम्बर ९८५११८४९७९ मा सम्पर्क गर्न सक्नेछन्।





