काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका कर्मचारीहरूमाथि कर्जा असुलीको क्रममा भएको कायरतापूर्ण आक्रमणप्रति एनआईसी एशिया बैंक कर्मचारी संघले घोर भर्त्सना गरेको छ । संघले घटनामा संलग्न दोषीहरूलाई पहिचान गरी कानुनअनुसार कडा कारबाही गर्न तथा बैंक कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गरेको हो ।
संघका अनुसार, कर्जा असुलीका लागि आधिकारिक कर्तव्यमा खटिएका बैंक कर्मचारीहरू सार्वजनिक स्थलमै केही ऋणीहरूबाट अमानवीय, अपमानजनक र गैरकानुनी व्यवहारको सिकार भएका छन् । कानुनी दायराभित्र रहेर आफ्नो कर्तव्य निर्वाह गरिरहेका कर्मचारीहरूमाथि गरिएको यस्तो हिंसा बैंकिङ प्रणाली, विधिको शासन र वित्तीय अनुशासनमाथिको प्रत्यक्ष आक्रमण भएको संघको ठहर छ ।
संघले बैंकिङ सेवा कानुनद्वारा संरक्षित सार्वजनिक सेवा भएको र कर्जा असुली बैंकिङ प्रणालीको अभिन्न अङ्ग भएको उल्लेख गर्दै कानुनी प्रक्रियामा अवरोध पुर्याउने, डरधम्की र हिंसात्मक गतिविधि दण्डनीय अपराध भएको स्पष्ट पारेको छ । यस्ता घटनाप्रति मौन बस्नु वित्तीय अराजकतालाई प्रोत्साहन गर्नु सरह हुने संघको भनाइ छ ।
घटनाले बैंक कर्मचारीहरूको सुरक्षा, मनोबल र कार्य वातावरणमा गम्भीर असर पार्नुका साथै सर्वसाधारणको बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर बनाउने जोखिम बढेको संघले विज्ञप्तिमा उल्लेख छ । विगतमा पनि बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरू लक्षित आक्रमण हुँदै आएको स्मरण गराउँदै संघले समयमै सम्बन्धित निकायको कडा हस्तक्षेप नभए बैंकिङ सेवामा आबद्ध कर्मचारीहरू ऐक्यबद्ध भई आन्दोलनमा उत्रिन सक्ने अवस्थालाई नकार्न नसकिने चेतावनी दिएको छ ।
संघले नेपाल सरकारका अर्थ मन्त्रालय र गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, बैंक तथा वित्तीय संस्था परिसंघलगायत सबै सरोकारवाला निकायलाई तत्काल प्रभावकारी हस्तक्षेप गर्न आग्रह गरेको छ । साथै, फाँटमा खटिँदा प्रहरी समन्वय, जोखिमयुक्त कार्यका लागि संस्थागत संरक्षण र स्पष्ट सुरक्षा मापदण्ड लागू गर्न बैंक तथा नियामक निकायसँग माग गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाका सबै कर्मचारी संघ–यूनियनलाई पनि कर्मचारीहरूको हकहित र सुरक्षाका लागि ऐक्यबद्ध रहन आह्वान गरिएको छ । संघले दोषीमाथि शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कडा कारबाही, बैंक कर्मचारीहरूको भौतिक तथा मानसिक सुरक्षाको सुनिश्चितता र यस्ता आपराधिक गतिविधि दोहोरिन नदिन ठोस कदम चाल्न माग गरेको छ ।
‘बैंकिङ सेवामाथि गरिने कुनै पनि प्रकारको धम्की, दुर्व्यवहार वा हिंसा स्वीकार्य छैन । बैंक कर्मचारीहरू श्रमिक हुन्, अपराधी होइनन्,’ संघले विज्ञप्तिमार्फत भनेको छ,’कानुनको शासन, संस्थागत मर्यादा र कर्मचारीको गरिमाको संरक्षण हामी सबैको साझा दायित्व हो ।’





