काठमाडौँ । प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र (बालेन) शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र सेनाध्यक्ष सेठबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए । भेटका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा दुई देशका सुरक्षा निकायबीचको सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन् ।
भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहँदै आएको छ ।
यसअघि सोमबार नै प्रधान सेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा दुई देशका सेनाबीचको आपसी सहकार्य र सम्बन्धका विषयमा छलफल भएको थियो ।





