काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आउँदै छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार भारतीय सेना प्रमुख सेठको नेपाल भ्रमण मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने र नेपाल र भारतबीचको सैन्य सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले हुन लागेको हो ।
सैनिक प्रवक्ता बस्नेतका अनुसार सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् ।
सोमबार नै सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति सिग्देल र भारतीय सेना प्रमुख सेठबीच द्विपक्षीय भेटवार्ता हुनेछ । सेठले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग भेटवार्ता गर्नेछन् । सेठ बुधबार स्वदेश फर्किने छन् ।
प्रधानसेनापतिमा नियुक्त भएपछि सेठको यो पहिलो विदेश भ्रमण हो । २०२६ को जुन ३० मा उनले भारतको प्रधानसेनापतिको पद सम्हालेका थिए ।
नेपाल र भारतका सेना प्रमुखहरूलाई एक–अर्काको देशमा मानार्थ महारथीको दर्जा दिने लामो समयदेखिको परम्परा रहिआएको छ। सोही परम्पराअनुसार यसअघि सन् २०२४ को डिसेम्बरमा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय सेनाको मानार्थ जनरलको उपाधि प्रदान गरेकी थिइन्।





