काठमाण्डौ । मिथिलाञ्चल क्षेत्रमा नवविवाहिता मिथिलानीले मनाउने १३ दिने मधुश्रावणी पर्व आज समापन हुँदैछ। साउन कृष्ण पञ्चमीका दिनदेखि सुरु भएको पर्व साउन शुक्ल तृतीयाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो।

मिथिलानीहरूले विवाह भएको पहिलो वर्ष श्रीमान्–श्रीमतीबीचको प्रेम, सौहार्द र दाम्पत्य जीवन सुखमय रहोस् भन्ने कामनासहित यो पर्व मनाउने परम्परा छ।

पर्व अवधिभर नवविवाहिताले भगवान् शिवशङ्कर, देवी गौरी (पार्वती) र नाग देवताको विधिपूर्वक पूजा तथा आराधना गर्छन्। विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै पर्व मनाउने गरिन्छ।

ADVERTISEMENT

मधुश्रावणी पर्वको समापनसँगै व्रतालुले पर्व अवधिभर दैनिक पूजामा प्रयोग गरेका बेलपत्र तथा फूल सङ्कलन गरी पवित्र नदी वा तलाउमा विसर्जन गर्ने परम्परा रहेको छ।

ADVERTISEMENT

मिथिलाञ्चलको मौलिक संस्कृति र परम्परासँग जोडिएको मधुश्रावणी पर्व विशेषगरी नवविवाहित महिलाका लागि महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ।