काठमाडौं । निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘शुभ विवाह’ को औपचारिक घोषणा गरिएको छ। निर्माण टिमले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मका मुख्य कलाकार तथा प्राविधिक टिम सार्वजनिक गरेको हो।
प्रियादर्शन फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा देखिनेछन्। घोषणा कार्यक्रममा यी दुईले एकअर्कालाई वरमाला लगाउनुका साथै औँठीसमेत साटासाट गरेका थिए। उनीहरूको यो ‘रील विवाह’ले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
रोमान्टिक कथामा आधारित फिल्ममा प्रदीप र सनिशासहित हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काले यसअघि ‘प्रेम गीत’ मा सहकार्य गरेका थिए। उक्त फिल्म व्यावसायिक रूपमा सफल मानिन्छ। ‘शुभ विवाह’मा उनीहरूको पुनः सहकार्यले पनि दर्शकमाझ चासो बढाएको छ।
सुप्रिया कटुवाल निर्माता तथा साम भुजेल कार्यकारी निर्माता रहेको फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्। पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ।
फिल्ममा बसन्त अधिकारी प्रमुख सहनिर्देशक तथा साजन कट्टेल र प्रार्थना पाठक सहनिर्देशकका रूपमा छन्। पोशाक सुशीला केसी (लगन बुटिक) र आकृति पन्त (सेन्ट्रल फेसन एकेडेमी) ले तयार पार्नेछन्।
निर्माण पक्षका अनुसार फिल्मको छायांकन चाँडै सुरु हुनेछ। ‘शुभ विवाह’लाई आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा ल्याउने योजना निर्माण टिमको छ।





