काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।
डिसेम्बर २०२४ मा आफ्नो शासन ढलेपछि असद परिवारसहित दमास्कसबाट भागेर रुसको राजधानी मस्को पुगेका थिए। उनको बहिर्गमनसँगै सिरियामा असद परिवारको पाँच दशकभन्दा लामो शासन अन्त्य भएको थियो।
यही मुद्दामा अदालतले असदका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनीतिक सुरक्षाका पूर्वप्रमुख आतेफ नजीबलाई पनि मृत्युदण्ड सुनाएको छ। फैसला सुनाइँदा नजीबलाई अदालतभित्र एउटा पिँजडामा राखिएको थियो।
दारा सहरलाई असद शासनविरुद्ध सन् २०११ मा सुरु भएको विद्रोहको उद्गमस्थलका रूपमा लिइन्छ। सन् २०११ को मार्चमा सरकारविरोधी भित्ते लेख लेखेको आरोपमा केही किशोरलाई पक्राउ गरी यातना दिइएको घटनापछि दारामा सरकारविरोधी प्रदर्शन सुरु भएको थियो।
सुरक्षा बलले प्रदर्शनमाथि गरेको हिंसात्मक दमनपछि आन्दोलन देशका अन्य भागमा समेत फैलिएको थियो। अन्ततः यही आन्दोलन सिरियाली गृहयुद्धमा परिणत भयो, जसमा लाखौँ मानिसको ज्यान गएको थियो।
पाँच दशकभन्दा बढी समय सिरियामा शासन गरेको असद परिवारको शासनसँग सम्बन्धित अधिकारीहरूमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षदेखि मुद्दा चलाउन थालेको हो। नजीब तीमध्ये उच्च तहका अधिकारीमध्ये एक हुन्।
अदालतले नजीबलाई पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको जानाजानी हत्या तथा मृत्यु हुने गरी यातना दिएको लगायतका अपराधमा दोषी ठहर गरेको छ।





