काठमाडौं । मेक्सिकोका एकजना लोकप्रिय टिकटकर ग्यास्टेलमको गोली हानी हत्या भएको छ ।
कुलियाकननजिकै मोटरसाइकलमा आएका मानिसले आक्रमण गर्दा ग्यास्टेलम आफ्ना फलोअर्ससँग लाइभस्ट्रिम गरिरहेका थिए । हत्यामा मेक्सिकोमा सक्रिय कुनै ड्रग्स कार्टेलको हात हुन सक्ने आशंका गरिएको छ ।
पछिल्लो समय कुलियाकन सहरको नियन्त्रणका लागि प्रतिद्वन्द्वी कार्टेलबिच संघर्ष चलिरहेकाले सहर हिंसाको केन्द्रबिन्दु बनेको छ ।
मेक्सिकन मिडियाका अनुसार सेप्टेम्बर २०२४ यता कुलियाकन सहरमा कम्तीमा १२ सामाजिक सञ्जाल इन्फ्लुएन्सरको हत्या भएको छ । यसअघि गत वर्ष मे २०२५ मा पश्चिमी राज्य जालिस्कोमा ब्युटी इन्फ्लुयन्सर भलेरिया मार्केजको हत्याले पूरै देश तरंगित भएको थियो ।
२४ वर्षीय ग्यास्टेलम टिकटकमा हास्यप्रधान कन्टेन्ट राख्थे र उनले प्राय: जीवनशैलीसम्बन्धी सामग्रीको प्रचार गरिरहेका हुन्थे । ग्यास्टेलमको टिकटकमा सात लाखभन्दा बढी फलोअर देखिन्छन् । उनीमाथि स्थानीय अभियोजक कार्यालयनजिकै आक्रमण भएको थियो ।
लाइभस्ट्रिमका क्रममा ग्यास्टेलमसँगै दुई साथी पनि रहेको तर उनीहरू भने सुरक्षित नै रहेको स्थानीय मिडियाले जनाएका छन् ।
घटना सम्बन्धमा अहिलेसम्म अधिकारीहरूले कुनै पनि गिरफ्तारी गरेका छैनन् भने हत्यापछाडि कुनै उद्देश्य पनि खुलाएका छैनन् । आक्रमणबारे प्रतिक्रिया दिने क्रममा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले बुधबार पत्रकारसँग बोल्दै सुरक्षा अधिकारीले घटनाको अनुसन्धान गरिरहेको बताइन् ।
मेक्सिकोको संघीय सुरक्षा मन्त्रिपरिषद्ले बुधबार सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै ग्यास्टेलमका विभिन्न सामाजिक सञ्जाल पोस्टको विश्लेषण गरिरहेको बताएको छ । यीमध्ये केही पोस्टले कार्टेल समूहको एउटा गुटबारे उल्लेख गरेको पाइएको बताइएको छ, तथापि त्यो कुन गुट हो वा कुन कार्टेल समूह भनेर खुलाइएको छैन ।





