काठमाडौं — राष्ट्रिय सभाले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारलाई थप गम्भीर बन्न र सभामा व्यक्त गरिएका प्रतिबद्धताहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथिको छलफलपछि राष्ट्रिय सभाले गृहमन्त्री सुधन गुरुङले व्यक्त गरेका प्रतिबद्धता कार्ययोजनाका रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रत्येक आर्थिक वर्षको पुस मसान्त र असार मसान्तभित्र कार्यान्वयनको प्रगति विवरण सभामा पेश गर्न सरकारलाई निर्देशन दिएका छन्।
साथै, ध्यानाकर्षण प्रस्तावमा उठाइएका विषयहरूको नियमित अनुगमन गर्न सम्बन्धित विषयगत समितिहरूलाई पनि सक्रिय भूमिका निर्वाह गर्न भनिएको छ।
छलफलका क्रममा गृहमन्त्री गुरुङ र केही सांसदबीच केहीबेर भनाभन भएको थियो। नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले निर्मला पन्त हत्याकाण्डको विषय उठाएपछि गृहमन्त्रीले उक्त विषयमा त्यहाँ प्रश्न नगर्न आग्रह गर्दै कडा प्रतिक्रिया दिएका थिए। त्यसपछि सांसदहरूले आपत्ति जनाएका थिए।
विवादपछि गृहमन्त्री गुरुङले रोष्ट्रमबाटै आफ्नो अभिव्यक्ति आवश्यकभन्दा रुखो भएको स्वीकार गर्दै माफी मागे। उनले आफ्नो बोल्ने शैली ठाडो भएको भन्दै सांसदहरूसँग क्षमायाचना गरेका थिए।




