काठमाण्डौ – आउँदो सेप्टेम्बर १९ देखि अक्टोबर ४ (असोज ३–१८) सम्म जापानको आइची–नागोयामा हुने २०औँ एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार १३६ खेलाडी र ३२ प्रशिक्षकसहित कुल १६८ सदस्यीय नेपाली टोली जापान जानेछ।

ADVERTISEMENT

समूहगत खेलतर्फ नेपालले कबड्डी, महिला भलिबल र पुरुष क्रिकेटमा मात्र सहभागिता जनाउनेछ। बाँकी १९ खेल व्यक्तिगत विधाअन्तर्गत रहेका छन्।

ADVERTISEMENT

खेलाडी संख्याका आधारमा पुरुष र महिला गरी २४ खेलाडी रहेको कबड्डी टोली सबैभन्दा ठूलो छ। पुरुष क्रिकेटमा १५ तथा महिला भलिबलमा १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा बढी ११ खेलाडी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा एक जना खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन्।

ADVERTISEMENT

यसअघि २३ खेलमा झन्डै १४० खेलाडी सहभागी गराउने तयारी भए पनि अन्तिम सूचीमा २२ खेल मात्र समावेश गरिएको राखेपले जनाएको छ।

सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका थिए। उक्त संस्करणमा कराँतेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टोलीले कांस्य पदक हात पारेको थियो। नेपालले भने हालसम्म एसियन गेम्समा स्वर्ण पदक जित्न सकेको छैन।