काठमाडौं । बुधबार बिहान पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार बिहान करिब ७ बजे सडकखण्डमा माथिबाट पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो ।
पहिरो हटाउन सडक डिभिजनको डोजर तथा आवश्यक उपकरण तत्काल घटनास्थलमा परिचालन गरिएको छ । डिभिजनले पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको जनाउँदै करिब एक घण्टाभित्र सडक पूर्ण रूपमा सञ्चालनमा आउने अनुमान गरेको छ ।
सडक डिभिजनले मुग्लिन–नारायणगढ सडक प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । वर्षा जारी रहेकाले थप पहिरो खस्ने जोखिमसमेत रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।




