चितवन । अविरल वर्षा र पहिरोको उच्च जोखिमका कारण मुग्लिन–नारायणगढ सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठकपछि अर्को सूचना जारी नभएसम्म सुरक्षाका दृष्टिले उक्त सडक खण्डमा सवारी सञ्चालन रोक्ने निर्णय गरेको हो।

ADVERTISEMENT

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार साँझदेखि मुग्लिन–नारायणगढ सडकका विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो। रातिसम्म पहिरो हटाएर बीच बाटोमा अलपत्र परेका यात्रु र सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको भए पनि वर्षा नरोकिएकाले जोखिम अझै कायम छ।

मंगलबार बिहान ६:३० बजेको अवस्थाअनुसार जलबिरे नजिक पुनः पहिरो खसेको छ। पहिरो पन्छाउन आवश्यक उपकरण र मेशिन परिचालन गरिएको सडक डिभिजनले जनाएको छ।

ADVERTISEMENT

प्रशासनले निरन्तर वर्षाका कारण थप पहिरो खस्ने जोखिम उच्च रहेकाले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा अर्को सूचना नआउन्जेल सुरक्षित स्थानमै बस्न आग्रह गरेको छ।