काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयहरूलाई विद्यार्थीको कपाल जबर्जस्ती काट्ने वा कटाउन लगाउने कार्य नगर्न आग्रह गरेको छ।
परिषद्ले यस्तो व्यवहारले विद्यार्थीको आत्मसम्मान, मर्यादा तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै सोमबार विज्ञप्तिमार्फत सचेत गराएको हो।
परिषद्का सूचना अधिकारी रामबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा पोशाक, साजसज्जा वा विद्यालय शुल्क नतिरेको जस्ता कारण देखाएर विद्यार्थीलाई अपमानित गर्ने, सार्वजनिक रूपमा लाञ्छित गर्ने वा भेदभावपूर्ण व्यवहार गर्ने कार्य बालअधिकारविपरीत भएको उल्लेख गरिएको छ।
परिषद्ले जबर्जस्ती कपाल काट्ने, कक्षा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्ने, शारीरिक स्वरूप, पहिचान, शृंगार वा साजसज्जाका आधारमा होच्याउने, लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिने जस्ता गतिविधिले विद्यार्थीको शारीरिक, मानसिक तथा मनोसामाजिक अवस्थामा प्रतिकूल प्रभाव पार्ने जनाएको छ।
यस्ता व्यवहार रोक्न विद्यालय प्रशासन तथा व्यवस्थापन समितिलाई स्पष्ट आचारसंहिता बनाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न परिषद्ले आग्रह गरेको छ।
हालै विभिन्न विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काटिएको भन्दै उजुरी परेपछि परिषद्ले यस विषयमा औपचारिक चासो व्यक्त गर्दै यस्तो निर्देशन जारी गरेको हो।




