काठमाडौं । सुनसरीको देवानगन्जबाट आइतबार सुरु भएको तनाव एक सातापछि मत्थर हुँदै गएको छ । पीडित पक्षदेखि विभिन्न समूह र मोर्चासँग सरकारले लगातार सहमति गरेपछि जनजीवन सामान्य बन्दै गएको हो ।

सुनसरी, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही र पर्सामा लगाइएको कर्फ्यु र निषेधाज्ञा खुकुलो पार्न थालिएको छ ।
सप्तरी जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यु खुकुलो पारेको छ ।

ADVERTISEMENT

तोकिएको समयपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सप्तरी जिल्ला प्रशासनले आग्रह गरेको छ । यस्तै कार्यालयको अनुमती लिइ सद्वभाव र्‍याली गर्ने प्रयोजनको लागी कर्फ्यू आदेश केही खुकुलो गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सो समयावधिभित्र हुलदंगा वा अशान्ति फैलाउन वा अन्य कुनै उदेश्यले एकै ठाउँमा पाँचजनाभन्दा बढी मानिस भेला जम्मा भई उछ्शृङ्खल गतिविधि गरेरगराइएको पाइएमा कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

ADVERTISEMENT

सप्तरीको बोदेबरसाईनमा गत साउन १४ गते राति १० बजेदेखि र राजबिराजमा १५ गते ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्यूको आदेश जारी गरिएको थियो ।

सिराहाको गोलबजार सामान्य बनेको छ । त्यहाँ निषेधाज्ञा हटाइएको छ । जनकपुरधाममा हिन्दुवादी मोर्चासँग सरकारले सहमति गरेपछि अवस्था सहज बन्न थालेको छ ।