सिराहा। सुनसरीको घटनालाई लिएर सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबिच ८ बुँदे सहमति भएको छ।

परिवारले अघि सारेका पाँच बुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठ बुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले परिवारसँगको भेटघाटपछि सञ्चारकर्मीसँग बताएका हुन्।

ADVERTISEMENT

गृहमन्त्रीका अनुसार सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाइ र बहिनीलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबाआमालाई समेत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर दाहसंस्कार गरिने सहमति भएको छ। दाहसंस्कारका लागि आवश्यक खर्चसमेत सरकारले उपलब्ध गराउने उनले बताए।

गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री गुरुङले घटनामा दोषीलाई कारबाही गरिने बताए ।

ADVERTISEMENT