काठमाडौं । कियाले भारतमा सार्वजनिक गरेको नयाँ विद्युतीय एसयूभी ‘सिरोस इभी’ अब नेपाली बजारमा आउने भएको छ । कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले आगामी दशैं–तिहारको अवसर पारेर सिरोस इभी नेपाल ल्याउने तयारी थालेको हो ।
कम्पनीले सुरुवाती चरणमा ४२ किलोवाट आवर ब्याट्री प्याक भएको स्ट्यान्डर्ड रेन्ज भर्सन नेपाल ल्याउने तयारी गरेको छ । बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्न सानो ब्याट्री क्षमताको भेरियन्टलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।
कन्टिनेन्टल ट्रेडिङका अनुसार सिरोस इभीलाई नेपाली बजारमा अन्य समान सेग्मेन्टका विद्युतीय एसयूभीसँग प्रतिस्पर्धा गर्नसक्ने गरी ल्याउने योजना छ । कम्पनीले करिब ४० लाख रुपैयाँ हाराहारीको मूल्यमा यसलाई बिक्री गर्ने लक्ष्य राखेको छ ।
सिरोस इभी कियाको नयाँ पुस्ताको इलेक्ट्रिक डिजाइनबाट प्रभावित मोडल हो । यसमा १९७ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ, जुन सब–फोर मिटर एसयूभी सेग्मेन्टमा यसको मुख्य विशेषता हो ।
गाडीको इन्टेरियरमा कियाले ‘ट्रिनिटी प्यानोरामिक डिस्प्ले’ दिएको छ । जसमा दुईवटा १२.३ इन्च स्क्रिन र बीचमा ५ इन्चको एचभिएसी कन्ट्रोल डिस्प्ले समावेश छ ।
सिरोस इभीको इन्फोटेन्मेन्ट सिस्टममा ब्याट्री स्टाटस, ऊर्जा खपत, बाँकी रेन्ज, नजिकको चार्जिङ स्टेसन खोज्ने सुविधा, चार्जिङ सेड्युलिङ र ब्याट्री प्रि–कन्डिसनिङ जस्ता फिचर उपलब्ध छन् ।
सुरक्षाको हिसाबले पनि सिरोस इभीमा ६ एयरब्याग, चारै पांग्रामा डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र आइएसओफिक्स चाइल्ड सिट माउन्ट जस्ता फिचर स्ट्यान्डर्ड रूपमा दिइएको छ ।
माथिल्लो भेरियन्टमा लेभल–२ एडास प्रविधि उपलब्ध हुनेछ । जसअन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, फ्रन्ट तथा रियर कोलिजन अवोइडेन्स र ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम जस्ता सुरक्षा प्रविधि समावेश छन् ।
कियाले सिरोस इभीमा ४२ किलोवाट आवर र ५१ किलोवाट आवर क्षमताका ब्याट्री प्याक विकल्प उपलब्ध गराएको छ । यी ब्याट्री प्याक हुन्डाई क्रेटा इभीबाट लिइएको हो । गाडीले १०० किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ ।





