काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा चिकित्सकहरूमाथि भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभरका सरकारी, निजी तथा गैरसरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ।
संघले सोमबार जारी गरेको विज्ञप्तिअनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरी गम्भीर चोट पुर्याइएको तथा अस्पतालमा तोडफोड गरिएको थियो।
घटनाका दोषीलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भइरहेको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरीद्वारा बल प्रयोग गरी संघका पदाधिकारी र चिकित्सकहरूमाथि गालीगलौज तथा दुर्व्यवहार भएको आरोप पनि संघले लगाएको छ।
नेपाल चिकित्सक संघले आक्रमणमा संलग्न व्यक्तिहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ अनुसार तत्काल पक्राउ गरी कडा कारबाही गर्न तथा घटनाका क्रममा दुर्व्यवहार गरेको आरोप लागेका पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेको छ।
संघले राज्यको दमनकारी व्यवहारको विरोधस्वरूप आज सांकेतिक रूपमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको जनाएको छ। साथै आन्दोलनका आगामी कार्यक्रम सर्वपक्षीय भेलामार्फत तय गरिने बताएको छ।
विज्ञप्तिमा आन्दोलनबाट बिरामीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उल्लेख गरिएको छ।












