वासिङ्टन । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको हवाई प्रतिरक्षा सुदृढ गर्न अमेरिकी सहयोग अझ विस्तार हुने विश्वास व्यक्त गर्दै अमेरिकी सिनेटले रुसविरुद्धको प्रतिबन्ध विधेयक अगाडि बढाउन गरेको प्रक्रियागत मतदानलाई ‘शान्तितर्फको पहिलो कदम’ का रूपमा स्वागत गरेका छन् ।

ह्वाइट हाउसमा एक घण्टाभन्दा बढी चलेको भेटपछि राष्ट्रपति जेलेन्स्कीले फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पसँग सकारात्मक छलफल भएको बताए ।

ADVERTISEMENT

उनका अनुसार ट्रम्पले प्याट्रियट हवाई रक्षा प्रणाली उत्पादनका लागि आवश्यक इजाजतपत्र उपलब्ध गराउने सहमति जनाएका छन् । त्यसपछि आफूले अमेरिकी रक्षा उद्योगका प्रमुख कम्पनीका प्रतिनिधिसँग भेट गरी सहउत्पादन र प्रविधि आदानप्रदानबारे पनि छलफल गरेको जानकारी दिए ।

यसै क्रममा उनले अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनका प्रतिनिधिसँग भएको भेटमा एटीएसीएमएस, हिमार्स, एफ–१६ तथा प्याट्रियट प्रणालीसम्बन्धी सहकार्य विस्तार, संयुक्त उत्पादन र युक्रेनको हवाई प्रतिरक्षा क्षमता अभिवृद्धिबारे विस्तृत छलफल भएको उल्लेख गरे । उनले युक्रेनसँग पनि सहकार्यका लागि उपयोगी अनुभव र प्रविधि रहेको बताउँदै दुवै पक्षका टोली सहउत्पादनको कार्ययोजना अघि बढाइरहेको जानकारी दिए ।

ADVERTISEMENT

भेटपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बैठक निकै सफल भएको र दुवै पक्षबीच धेरै महत्त्वपूर्ण विषयमा छलफल भएको उल्लेख गरेका थिए ।