काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले उद्योगी, व्यवसायीसँगको छलफललाई निरन्तरता दिएका छन् । उनले शुक्रबार प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दैछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक संघङ्घका अध्यक्ष रेशमबहादुर पोखरेललाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार छलफलमा निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे उद्योगी व्यवसायीसँग सुझाव लिइनेछ ।
प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउने, लगानी तथा उत्पादन बढाउने र निर्यात प्रवर्द्धनका विषयमा निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन् ।
प्रधानमन्त्री बालेनले हिजो मात्रै चिया उद्योगीहरुसँग छलफल गरेका थिए । तर उनले त्यस्ता छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र सम्बन्धित क्षेत्रका विभागीय मन्त्रीलाई सहभागी गराउने गरेका छैनन् ।





