काठमाडौं । यस वर्ष साउन ४ (सोमबार) सम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ७३.६१ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ।
कृषि विभागका अनुसार १३ लाख ७३ हजार ८६२ हेक्टरमध्ये १० लाख ११ हजार ३०२ हेक्टरमा रोपाइँ सकिएको हो। गत वर्ष यही अवधिमा ७२.१४ प्रतिशत रोपाइँ भएको थियो।
प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेश ९०.६७ प्रतिशत रोपाइँसहित अग्रस्थानमा रहेको छ भने ५७.९३ प्रतिशतसहित मधेस प्रदेश सबैभन्दा पछाडि छ। यद्यपि, मधेसमा गत वर्षको तुलनामा रोपाइँमा सुधार देखिएको छ।
कोशी प्रदेशमा ७३.९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको ६१.७१ प्रतिशतभन्दा उल्लेखनीय रूपमा बढी हो।
यता लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३७२ हेक्टरमध्ये २ लाख ४३ हजार ४२ हेक्टर अर्थात् ८०.६५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। तर यो गत वर्षको ८७.९३ प्रतिशतको तुलनामा कम हो।
त्यस्तै बागमतीमा ७७.३३ प्रतिशत, गण्डकीमा ७८.३६ प्रतिशत र कर्णालीमा ७७.०५ प्रतिशत रोपाइँ भएको छ। यी तीनै प्रदेशमा पनि गत वर्षको तुलनामा रोपाइँ दर घटेको कृषि विभागको तथ्यांकले देखाएको छ।





