काठमाडौं । अविरल वर्षासँगै सप्तकोशीमा बाढीको जोखिम बढेसँगै कोशी ब्यारेजका थप ढोका खोल्ने तयारी भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदीमा पानीको बहाव बढेर बाढी जोखिमको अवस्था आएमा आइतबार कोशी ब्यारेजका ढोका क्रमशः खोलिने जनाएका छ ।
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेकाले बाढीपहिरो न्यूनीकरणको पूर्वतयारीलाई तीव्र बनाइएको प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले बताए ।
शुक्रबार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेपछि २० वटा ढोका खोलिएका थिए। कोशीमा जलप्रवाह प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पुगेपछि उच्च सतर्कताको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।
प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी थालेको छ। प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।





