एजेन्सी । अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी २३ वर्षीया एन्ड्रिया शालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
शाले आफ्ना शिशुको मृत्यु फ्लू, हेपाटाइटिस–ए र टिटानसलगायतका नियमित खोप लगाएको आठ दिनपछि भएको दाबी गर्दै आएकी थिइन्। उनी खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ ले दायर गरेको मुद्दाकी मुख्य वादीसमेत हुन्।
तर पेएट प्रहरी विभागले लामो अनुसन्धानपछि शिशुको मृत्यु प्राकृतिक नभई श्वास अवरुद्ध गरी हत्या गरिएको निष्कर्ष निकाल्दै शाविरुद्ध अभियोग दर्ता गरेको जनाएको छ।
अदालतमा शाका कानुन व्यवसायीले उनलाई जिम्मेवार र मायालु आमा भएको दाबी गर्दै धरौटीमा रिहा गर्न माग गरेका थिए। तर न्यायाधीशले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै २० लाख अमेरिकी डलरको धरौटी सुविधा अस्वीकार गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका छन्।
स्वास्थ्य विज्ञहरूले नियमित बाल खोपले श्वासप्रश्वास अवरुद्ध हुने वा यस्ता प्रकारका मृत्यु गराउने कुनै वैज्ञानिक प्रमाण नरहेको दोहोर्याएका छन्। साथै, जुम्ल्याहा शिशुको एउटै समयमा खोपको प्रतिकूल प्रतिक्रियाबाट मृत्यु भएको दाबी पनि अस्वाभाविक रहेको उनीहरूको भनाइ छ।






