काठमाडौं — सेवानिवृत्त मुख्यसचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार विशेष कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा निवर्तमान मुख्यसचिव अर्यालले करिब तीन दशक लामो निजामती सेवापछि अवकाश लिन लागेको उल्लेख गर्दै देश र जनताको सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे। उनले संवेदनशील परिस्थितिमा मुख्यसचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकेको बताए।

ADVERTISEMENT

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले मुलुक सञ्चालनमा निजामती प्रशासनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सरकार र कर्मचारीतन्त्रबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने स्पष्ट पार्दै अर्यालको अनुभव र योगदान आगामी दिनमा पनि उपयोग हुने विश्वास व्यक्त गरे।

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीले नयाँ जिम्मेवारी इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले निजामती सेवा सुधारसम्बन्धी सरकारी नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने पनि बताए।

ADVERTISEMENT

कार्यक्रममा प्रधानमन्त्रीका तर्फबाट राजनीतिक सल्लाहकार शाहले सेवानिवृत्त मुख्यसचिव अर्याललाई कदरपत्र प्रदान गरेका थिए। उपस्थित कर्मचारी तथा सचिवहरूले अर्यालको योगदानप्रति आभार व्यक्त गर्दै मुख्यसचिव कार्कीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।