काठमाडौं – २३औँ संस्करणको फिफा विश्वकप फुटबल अन्तिम चरणतर्फ अघि बढ्दै जाँदा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने प्रतिष्ठित गोल्डेन बुटको प्रतिस्पर्धा इतिहासकै रोमाञ्चक मोडमा पुगेको छ।

यसपटक चार स्टार खेलाडीबीचको प्रतिस्पर्धाले फुटबल समर्थकको चासो थप बढाएको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेसी ८ गोलसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्। उनको पछाडि फ्रान्सका केलियन एमबाप्पे र पहिलो पटक विश्वकप खेलिरहेका नर्वेका एर्लिङ हालान्ड समान ७ गोलका साथ छन्। यस्तै इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोल गर्दै शीर्ष तीन खेलाडीलाई पछ्याइरहेका छन्।

सामान्यतया विश्वकपमा गोल्डेन बुटको विजेता समूह चरण वा नकआउटको सुरुवातमै लगभग तय हुने गरेको देखिन्छ। तर यस संस्करणमा शीर्ष चार खेलाडीबीच गोलको अन्तर निकै कम भएकाले अन्तिम खेलसम्म पनि विजेता को बन्ने भन्ने टुंगो लाग्ने सम्भावना देखिएको छ।

ADVERTISEMENT

चारै खेलाडीका टोली क्वाटरफाइनलमा स्थान बनाउन सफल भएकाले उनीहरूलाई थप गोल गर्ने अवसर प्राप्त हुनेछ। क्वाटरफाइनल, सेमिफाइनल र फाइनलसम्म पुग्ने टोलीका खेलाडीले अझ बढी खेल खेल्ने भएकाले गोल्डेन बुटको समीकरण कुनै पनि बेला परिवर्तन हुन सक्छ।

ADVERTISEMENT

विश्वकप इतिहासमा एउटै संस्करणमा ८ वा सोभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा अहिलेसम्म सीमित खेलाडी मात्र परेका छन्। मेसीले यस संस्करणमा ८ गोल पूरा गर्दै उक्त सूचीमा आफ्नो नाम दर्ता गराइसकेका छन्।

ADVERTISEMENT

एमबाप्पे, हालान्ड र केन पनि केही गोल थप्न सके सो उपलब्धि हासिल गर्ने सम्भावना बलियो छ। विश्वकपको एकै संस्करणमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान भने अझै पनि फ्रान्सका महान् स्ट्राइकर जस्ट फोन्टेनको नाममा सुरक्षित छ।

उनले सन् १९५८ को विश्वकपमा केवल ६ खेल खेल्दै १३ गोल गरेका थिए। दशकौँ बितिसक्दा पनि त्यो कीर्तिमान कुनै खेलाडीले तोड्न सकेको छैन। फिफाको नियमअनुसार गोल्डेन बुट सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ।

यदि दुई वा दुईभन्दा बढी खेलाडीको गोल संख्या बराबर भए सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडीलाई प्राथमिकता दिइन्छ। गोल र असिस्ट दुवै बराबर भएको अवस्थामा कम समय मैदानमा बिताएका खेलाडीलाई विजेता घोषणा गरिन्छ।

विश्वकप उपाधिको प्रतिस्पर्धासँगै व्यक्तिगत उपलब्धिको यो दौड पनि उत्तिकै आकर्षक बनेको छ। मेसी आफ्नो अग्रता कायम राख्ने प्रयासमा छन् भने एमबाप्पे, हालान्ड र केन उनलाई उछिन्ने लक्ष्यसहित क्वाटरफाइनलमा मैदान उत्रनेछन्।

त्यसैले आगामी खेलहरूले गोल्डेन बुटको अन्तिम विजेता निर्धारणमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।