तेहरान । रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच दोस्रो दिन पनि सैन्य आक्रमण र प्रतिआक्रमण जारी छ ।
समुद्री मार्गको नियन्त्रण, अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावत तथा क्षेत्रीय सुरक्षालाई लिएर दुवै पक्षबीच तनाव चुलिँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ ।

अमेरिकी सेनाले हर्मुज जलघाँटीमा अन्तर्राष्ट्रिय जहाजहरूको स्वतन्त्र आवागमनलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले पछिल्लो सैन्य कारबाही गरिएको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार करिब ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरिएको छ ।

ADVERTISEMENT

इरानको उत्तरपूर्वस्थित रेल पुल, तटीय बुसेहरस्थित सैन्य आधार, बन्दर अब्बास, कोणार्क, चाबहार तथा किश टापु आसपासका क्षेत्रमा विस्फोट भएका छन् । केही स्थानमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ADVERTISEMENT

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले त्यसको प्रत्युत्तरस्वरूप बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ ।

बहराइनको राजधानी मनामामा विस्फोटको आवाज सुनिएको एएफपीका संवाददाताले बताएका छन् भने कुवेतले शत्रुतापूर्ण क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू अवरोध गरिएको जनाएको छ । अमेरिकी अधिकारीका अनुसार इरानको पछिल्लो आक्रमणबाट अमेरिकी पक्षमा कुनै ठूलो क्षति वा मानवीय हताहत भएको छैन ।

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको बताउँदै थप वार्ताका लागि ढोका भने खुला रहेको उल्लेख गरेका छन् । उनले ट्रुथ सोसलमार्फत इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोधस्वरूप अमेरिकी कारबाही गरिएको दाबी गर्दै पुनः यस्ता गतिविधि भए अझ कडा जवाफ दिइने चेतावनी दिए ।

यसैबीच, इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालीबाफले हर्मुज जलघाँटी इरानी व्यवस्थाअन्तर्गत मात्र सञ्चालन हुने स्पष्ट पारेका छन् । उनले अमेरिकाले धम्की र प्रतिबद्धता उल्लंघनको परिणाम नहुने ठान्न नहुने चेतावनी दिँदै इरानमाथि आक्रमण भए जवाफ पनि त्यहीअनुसार दिइने बताए ।

फेब्रुअरीमा अमेरिका–इजरायल आक्रमणपछि सुरु भएको युद्धयता इरानले हर्मुज जलघाँटीमाथि नियन्त्रण कायम राख्ने नीति अघि बढाउँदै आएको छ । तेहरानले जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क लिने र तोकिएको मार्गबाट विचलित हुने जहाजमाथि कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।