काठमाडौं । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लाका किसानलाई एक साताभित्र करिब ५२ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ।
रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको मूल्याङ्कनका आधारमा ७५ प्रतिशत राहत रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिने विभागले जनाएको छ।
विभागका प्रवक्ता मुकुल उपाध्यायका अनुसार क्षति प्रमाणित गरी माग दाबी गरेका किसानलाई एक साताभित्र भुक्तानी गरिनेछ। असार मसान्तसम्म रकम प्राप्त गर्न नसकेका किसानलाई भने नयाँ आर्थिक वर्षमा क्षतिपूर्ति उपलब्ध गराइने उनले बताए।
बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार प्रमाणित क्षतिको मूल्याङ्कनपछि राहत वितरण गरिने विभागले जनाएको छ। साथै, पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरिएका सबै प्रमाणसहित सम्बन्धित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन किसानलाई आग्रह गरिएको छ।
बर्डफ्लु संक्रमणका कारण काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्ला बढी प्रभावित भएका छन्।
विभागका अनुसार हालसम्म करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।






