काठमडौँ । फिफा विश्वकपको राउन्ड अफ ३२ को भिडन्तमा पाराग्वेले चारपटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोली १–१ को बराबरीमा रोकिएपछि विजेताको फैसला पेनाल्टी सुटआउटबाट गरिएको हो । जारी विश्वकपमै पहिलोपटक भएको पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

ADVERTISEMENT

अमेरिकाको फक्सबरो रंगशालामा नेपाली समय अनुसार मंगलबार बिहान २ः१५ बजे सुरु भएको नकआउट खेलको पहिलो हाफमा पाराग्वेले सुरुवाती अग्रता लिएको थियो । खेलको ४२ औँ मिनेटमा माटियास गालार्जाको पासमा स्ट्राइकर जुलियो एन्सिसोले उत्कृष्ट गोल गर्दै पाराग्वेलाई १–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा उत्कृष्ट लयमा फर्किएको जर्मनीका लागि ५४ औँ मिनेटमा फ्लोरियन विर्ट्जको पासमा काई हाभर्ट्जले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

ADVERTISEMENT

खेल निर्धारित ९० मिनेटमा १–१ को स्थितिमा सकिएपछि जारी विश्वकपमै खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०२औँ मिनेटमा नथानियल ब्राउनको पासमा जर्मनीका डिफेन्डर जोनाथन टाहले गोल गर्दै जर्मनीलाई २–१ को अग्रता दिलाए पनि भीएआरको निर्णयले उक्त गोल खारेज गरिदियो । र, खेल पुनः १–१ को बराबरीकै स्थितिमा सकियो ।

पेनाल्टी सुटआउटमा जर्मनीका लागि पहिलो पेनाल्टी प्रहार गर्न आएका काई हाभर्ट्जको प्रहार मिस भयो भने जोसुवा किमिच, जमाल मुसिएला र नादिम अमिरीले गोल गरे । तर, निक वोल्टेमेड र छैटौँ प्रहारका लागि आएका जोनाथन टाहले पेनाल्टी मिस गरेपछि जर्मनी संकटमा परेको थियो ।

ADVERTISEMENT

पाराग्वेका लागि माउरिसियो, गुस्ताभो गोमेज, माटियास गालार्जा र छैटौँ पेनाल्टी प्रहार गरेका होसे कानाले गोल गरे भने एन्टोनियो सानाब्रिया र फाबियन बाल्बुएनाले गोल गर्न सकेनन् । अन्ततः होसे कानालेले प्रहार गरेको निर्णायक पेनाल्टी गोलमा परिणत भएसँगै पाराग्वेले ४– को जित दर्ता गरेको छ ।