काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठन भएको अर्को साता सय दिन पुग्दैछ । चैत १३ गते प्रधानमन्त्रीको शपथ खाएका बालेनले त्यही दिन मन्त्रिपरिषद् गठन गरेका थिए ।
सय दिनसम्म पनि केही मन्त्रीको कार्यसम्पादन चित्त नबुझेपछि प्रधानमन्त्री बालेनले हेरफेरको तयारी गरेका छन् । सरकार नेतृत्व गरेको सय दिन पुगेपछि कमजोर कार्यसम्पादन गरेका तीन मन्त्री फेर्नेबारे छलफल भइरहेको बताइएको छ।
रास्वपा नेताहरूका अनुसार महिला तथा बालबालिका, उद्योग तथा वाणिज्य र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्व हेरफेर गर्ने तयारी छ। उद्योगमन्त्री गौरी कुमारीलाई पदमुक्त गरेर गणेश पराजुली र महिला तथा बालबालिकामन्त्री सीता वादीलाई हटाएर समीक्षा बाँस्कोटालाई जिम्मेवारी दिने गृहकार्य सुरु भएको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछनेले गृहकार्यसमेत थालेको बताइन्छ ।
स्वास्थ्यमन्त्री निशा मेहताको ठाउँमा कसलाई ल्याउने भन्ने टुंगो लागेको छैन। नेतृत्व सम्हालेको सय दिन पुग्दा पनि राम्रो कार्यसम्पादन गर्न नसकेका मन्त्रीहरूलाई फिर्ता बोलाउन लागिएको रास्वपाका एक सांसदले बताए ।
रवि र बालेनबीच एकअर्काको काममा हस्तक्षेप नगर्ने सहमति छ । पार्टी रविले र सरकार बालेनले चलाउने सहमति भएको थियो । तर चितवनमा हालै सम्पन्न रास्वपा महाधिवेशनमा केही नेताहरूलाई सरकारमा समेट्ने आश्वासन दिइएकाले पनि सभापति लामिछानेले तीन मन्त्री हेरफेरबारे चासो राखिएको बताइन्छ ।
मन्त्री बन्ने चर्चामा आएका गणेश पराजुलीले महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका थिए । त्यस्तै, समीक्षा बास्कोटाले उपसभापतिमा उम्मेदवारी दिए पनि सोविता गौतमलाई समर्थन गर्दै फिर्ता लिएकी थिइन् । महाधिवेशनमा लगाएको गुन तिर्न रविले दुवैलाई मन्त्री बनाउन लागेको चर्चा छ ।





