ललितपुर। जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३ सेवाग्राहीलाई राहदानी घरमै वितरण गरेको छ । नेपाल सरकारले हुलाकमार्फत सरकारी कागजात सेवाग्राहीको घरसम्म पुर्याउने व्यवस्था लागू गरेसँगै ललितपुरमा गत वैशाख २२ गतेदेखि यो सेवा सञ्चालनमा आएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म ६४ जना सेवाग्राहीले घरमै राहदानी प्राप्त गर्ने विकल्प रोजेर आवेदन दिएका छन्। तीमध्ये ४३ जनाले राहदानी प्राप्त गरिसकेका छन् भने बाँकी राहदानी निर्माण प्रक्रियामा रहेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार कार्यालयबाट मासिक औसत एक हजार १०० राहदानी जारी हुँदै आएका छन्। उनले घरमै राहदानी प्राप्त गर्ने सेवाप्रति सेवाग्राहीको आकर्षण क्रमशः बढ्दै गएको बताए । उनका अनुसार ललितपुरका केही स्थानीय तह भौगोलिक रूपमा दुर्गम रहेकाले हुलाकमार्फत राहदानी घरमै उपलब्ध गराउँदा सेवाग्राहीलाई सहज भएको छ। यद्यपि धेरैजसो सेवाग्राहीले राहदानी छिटो प्राप्त गर्न कार्यालयमै उपस्थित भएर बुझ्ने गरेको पनि उहाँले जानकारी दिए ।

ADVERTISEMENT

जिल्ला हुलाक कार्यालय ललितपुरले पनि राहदानी घरमै वितरण गर्ने सेवाप्रति सेवाग्राहीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जनाएको छ। कार्यालयका अनुसार हालसम्म गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकाका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी वितरण गरिएको छ।

ADVERTISEMENT

जिल्ला हुलाक कार्यालयकी प्रमुख रमा पन्तका अनुसार घरमै राहदानी सेवा लिने सेवाग्राहीको संख्या विस्तारै बढ्दै गएको छ। उहाँले विशेषगरी ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका सेवाग्राहीले यो सेवाको बढी उपयोग गरिरहेको बताउनुभयो। दुर्गम गाउँपालिकाबाट भने अपेक्षाअनुसार सेवाग्राहीको सहभागिता हुन नसकेको उहाँको भनाइ छ।

प्रमुख पन्तले स्रोतसाधनको सीमितताका कारण कहिलेकाहीँ सेवा प्रवाहमा सामान्य ढिलाइ हुन सक्ने भए पनि सेवा भरपर्दो रहेको बताउनुभयो। उहाँका अनुसार सरकारी तथा बैंकिङसम्बन्धी कागजातको आदान–प्रदानमा हुलाक सेवाको प्रयोग अझै प्रभावकारी रूपमा भइरहेको छ।

ADVERTISEMENT