काठमाडौं । नेपालमा इलेक्ट्रिक भेहिकल बिवाइडीको मूल्य तीन लाख रुपैयाँसम्म बढेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा करका दर हेरफेर भएसँगै बिवाइडीको मूल्य मोडेलअनुसार वृद्धि भएको छ ।
बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा केही लोकप्रिय मोडेलहरूको मूल्य पुनः अपडेट गरेको हो । नयाँ मूल्यसूचीअनुसार बिवाइडी १, बिवाइडी २, बिवाइडी अटो ३ र सेलिएन ७ को मूल्य बढेको छ ।
सबैभन्दा ठूलो मूल्यवृद्धि बिवाइडी अटो ३ मा भएको छ । यो मोडेलको गाडीको मूल्य तीन लाख रुपैयाँले बढेको छ ।
बिवाइडी १ मा ७५ हजार रुपैयाँ, बिवाइडी २ मा एक लाख रुपैयाँ र सेलिएन ७ मा दुई लाख रुपैयाँले मूल्य बढेको छ । बिवाइडीका अनुसार २०२६ मोडेल युनिटहरूको आगमन र अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तन र हालैको बजेटपछि कर संरचनामा आएको परिवर्तनका कारण गाडीहरूको मूल्य अपडेट गरिएको हो ।
बिवाइडीको मूल्य बढे पनि इएमआई योजना वा मासिक किस्तासम्बन्धी विवरण हालसम्म अन्तिम नभएको जानकारी प्राप्त भएको छ । त्यसैले अहिलेका लागि मूल्य अपडेट सार्वजनिक भए पनि इएमआइसम्बन्धी नयाँ विवरण आउन बाँकी छ । त्यसैले आफूलाई मन पर्ने र चाहेको मोडेलको बिवाइडी गाडी खरिद गर्न कम्पनीले आग्रह गरेको छ ।
नेपाली बजारमा बिवाइडी एटो ३ निकै लोकप्रिय विद्युतीय एसयूभी हो । १०० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवरको ब्याट्री भएको एड्भान्स्ड भेरियन्टको एटो ३ को मूल्य ६१ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।







