काठमाडौँ । कतारको रास लफान औद्योगिक क्षेत्रस्थित बार्जान ग्यास आपूर्ति केन्द्रमा विस्फोट हुँदा १८ जना बेपत्ता भएका छन् । कतारको आन्तरिक मन्त्रालयका अनुसार घटनामा ५४ जना घाइते भएका छन् ।
रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आइरहेका छन् । कतारको आन्तरिक मन्त्रालयले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बेपत्ता १८ जनाको खोजीका लागि विशेष अभियान सञ्चालन गरिएको जनाएको छ । आन्तरिक सुरक्षा बलको अन्तर्राष्ट्रिय खोजी तथा उद्धार समूह र नागरिक सुरक्षाको संयुक्त टोलीले खोजी कार्यलाई तीव्रता दिएको छ ।
कतारले बेपत्ता र घाइते भएका श्रमिकको पहिचान सार्वजनिक गरिसकेको छैन । कतारको ऊर्जा क्षेत्रको प्रमुख कम्पनी कतार एनर्जीले यो घटना सुरुवाती सञ्चालनका क्रममा भएको प्राविधिक दुर्घटना रहेको पुष्टि गरेको छ । आपतकालीन टोलीले तुरुन्तै आगो नियन्त्रणमा लिएको र अहिले अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको कम्पनीले जनाएको छ । विस्फोटको आवाज राजधानी दोहासम्म सुनिएको थियो ।
रास लफान कतारको मुख्य एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) प्रशोधन केन्द्र हो । यो क्षेत्रमा नेपाली श्रमिकहरू स्काफफोल्डिङको काम गर्छन् ।






