काठमाडौं। नेपाली कांग्रेसले भारतले नेपाली चिया आयातमा लागू गरेको नयाँ मापदण्डका कारण उत्पन्न समस्या समाधान गर्न सरकार–सरकार (जीटुजी) तहमा तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन तत्काल र दीर्घकालीन दुवै प्रकारका समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ व्यवस्थाअनुसार चियाको गुणस्तर परीक्षण प्रतिवेदन प्राप्त गर्न दुई साताभन्दा बढी समय लाग्ने, प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने तथा सामान्य समस्या देखिए पनि चिया नष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले उद्योगीहरूको उत्पादन लागत बढाएको र निर्यात प्रक्रियामा गम्भीर असर परेको उनले बताए।
सांसद केरुङका अनुसार उक्त व्यवस्थाका कारण इलाम र पाँचथरका ५३ भन्दा बढी चिया उद्योग बन्द भएका छन्। हाल करिब ३ लाख किलो नेपाली चिया भारत पुगेर रोकिएको छ भने ७ लाख किलोभन्दा बढी तयारी चिया उद्योगमै थन्किएको अवस्था छ।
उद्योगहरू बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको, हजारौं श्रमिकको रोजगारी प्रभावित भएको तथा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको उनले उल्लेख गरे।
नेपालबाट सीमित मात्रामा मात्र वस्तु निर्यात हुने उल्लेख गर्दै केरुङले पूर्वी नेपालका जिल्लाबाट निर्यात हुने चिया र अलैंची राष्ट्रिय अर्थतन्त्रका लागि महत्वपूर्ण निर्यातजन्य वस्तु भएको बताए। उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ को पहिलो ११ महिनामा ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो भने सोही अवधिको पहिलो ९ महिनामा १० अर्ब ७० करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो।
भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेपछि नेपाली चिया उद्योग संकटमा परेको सांसद केरुङको भनाइ छ।
उनले सरकारलाई तत्काल भारतसँग कूटनीतिक संवाद गरी निर्यात सहज बनाउने वातावरण सिर्जना गर्न, दीर्घकालीन समाधान खोज्न तथा नेपालमै आधुनिक चिया परीक्षण प्रयोगशाला स्थापना गरी गुणस्तर परीक्षण प्रणाली विकास गर्न आग्रह गरेका छन्।






