काठमाडौं । चालू आर्थिक वर्षमा नेपालका ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा छन् । १६ वटा भने नोक्सानीमा छन् । संघीय संसदमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार यो आवमा दुईवटा संस्थान बन्द अवस्थामा छन् ।
अघिल्लो आर्थिक वर्षमा २८ वटा सार्वजनिक संस्थान नाफामा थिए । १५ वटा नोक्सानी र दुईवटा बन्द अवस्थामा थिए । नाफामा सञ्चालन भएका संस्थानबाट सरकारले आठ अर्ब ३७ करोड ७६ लाख लाभांश प्राप्त गरेको छ। आव २०८०–८१ मा यस्तो लाभांश आठ अर्ब ८३ करोड ५६ लाख थियो।
आव २०८१–८२ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय ०.७ प्रतिशतले बढेर ६ खर्ब ७२ अर्ब ४० करोड २६ लाख पुगेको छ। आव २०८०–८१ मा यस्तो आय ६ खर्ब ६८ अर्ब ३ लाख रहेको थियो।
चालू आवमा सार्वजनिक संस्थानको आयकर दायित्वबापतको व्यवस्था रकम २२.४ प्रतिशतले कमी आई ११ अर्ब ३६ करोड रहेको छ। अघिल्लो आवमा यस्तो दायित्व १४ अर्ब ६३ करोड रहेको थियो।
२०८२ असारसम्म कोषमा व्यवस्था नगरिएको दायित्व १०.१० प्रतिशतले वृद्धि भई ६६ अर्ब ४० करोड ८३ लाख पुगेको छ भने सम्भावित दायित्व ३.०३ प्रतिशतले वृद्धि भई २२ खर्ब ६४ अर्ब ५५ करोड ३७ लाख पुगेको छ। २०८२ असार मसान्तमा सार्वजनिक संस्थानको कुल शेयरधनी कोष ३.९ प्रतिशतले वृद्धि भई १० खर्ब ७३ अर्ब २८ करोड ३१ लाख पुगेको छ।
२०८१ असार मसान्तमा यस्तो कोष १० खर्ब ३७ अर्ब ५८ करोड ४६ लाख रहेको थियो।
२०८२ असार मसान्तमा सात संस्थानको शेयरधनी कोष ऋणात्मक रहेको छ। सबैभन्दा धेरै नेपाल वायुसेवा निगमको सात अर्व ९३ करोड ४४ लाखले ऋणात्मक रहेको छ। यस अवधिमा नाफामा रहेका संस्थानको खुद नाफा ४८ अर्ब ८९ करोड ६ लाख र नोक्सानमा रहेका संस्थानको खुद नोक्सान तीन अर्ब ८० करोड ५७ लाख रहेको छ।
नाफामा रहेका संस्थानको खुद नाफा १०.६ प्रतिशतले बढेको र नोक्सानमा रहेका संस्थानको खुद नोक्सान ४.१ प्रतिशतले घटेको छ।
नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी र नेपाल नागरिक उड्ययन प्राधिकरणको सञ्चित नाफा सबैभन्दा धेरै छ। २०८२ असारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कुल ४६६ कम्पनीमध्ये सात सार्वजनिक संस्थान छन्। सूचीकृत सार्वजनिक संस्थानको बजार पुँजीकरणको हिस्सा १५.१ प्रतिशत रहेको छ।






