काठमाडौं । ग्लोबल आइएमई बैंकको कोशी प्रदेशअन्तर्गत विराटनगरमा कार्यरत कर्मचारी पिताम्बर खड्काको आत्महत्याले बैंकिङ क्षेत्र त्रस्त बनेको छ । खड्काले सामाजिक सञ्जाल फेसबुकमा बैंकका चार ठूला कर्मचारीको तस्बिर राखेर जेठ ४ गते ‘उनीहरू नै हुन् मलाई मार्ने’ भनेर लेखेपछि वाणिज्य बैंकमा कार्यरत कर्मचारीहरू त्रस्त भएका हुन् ।
खड्काको आत्महत्याको घटनाप्रति बैंक तथा वित्तीय क्षेत्रका सम्पूर्ण कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण भएका छन् । एभरेष्ट बैंक कर्मचारी संगठन, नबिल बैंक कर्मचारी संघ, एनआईसी एसिया बैंक कर्मचारी संघ, प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियन, नेपाल एसबीआई बैंक कर्मचारी संघ, हिमालयन बैंक कर्मचारी संगठन र सिद्धार्थ बैंक कर्मचारी संघ गरी सातवटा संघसंस्थाले चिन्ता जनाएका छन् ।
बैंकिङ क्षेत्रमा बढ्दो कार्यदबाब, असुरक्षित कार्य वातावरण, श्रम अधिकार, मानसिक स्वास्थ्य तथा बैंक कर्मचारीको आत्महत्याप्रति उनीहरूले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘यस घटनाले समग्र बैंकिङ क्षेत्रका श्रमजीवी कर्मचारीहरूलाई स्तब्ध, मर्माहत र चिन्तित बनाएको छ। दिवंगत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौँ,’ बिहीबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
बैंकिङ क्षेत्रसँग सम्बन्धित कर्मचारी संघ र युनियनले खड्काको आत्महत्या केवल व्यक्तिगत दुःखद घटनाको रूपमा मात्र नभई बैंकिङ्ग क्षेत्रमा पछिल्लो समय बढ्दै गएको अत्याधिक कार्यदबाब, अस्वस्थ कार्य संस्कृति तथा श्रम व्यवस्थापनसम्बन्धी गम्भीर समस्याहरूको संकेतका रूपमा लिएको उल्लेख गरेका छन् ।
‘आफ्नो जिम्मेवारी तथा प्रचलित बैंकिङ नियम, मापदण्ड र कानुनअनुसार कार्य सम्पादन गर्दासमेत कर्मचारीहरूमाथि विभिन्न दबाब समूहबाट दुव्र्यवहार, धम्की, व्यक्तिगत अपमान तथा असुरक्षाका घटनामा वृद्धि भइरहेको छ । यस्ता गतिविधिले कर्मचारीहरूलाई सुरक्षित र सम्मानजनक वातावरणमा काम गर्न गम्भीर अवरोध सिर्जना गरिरहेका छ,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधान तथा प्रचलित कानुनले प्रत्येक श्रमिकलाई सुरक्षित, सम्मानजनक र मर्यादित कार्य वातावरणको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उच्च तहका कर्मचारीहरूमाथि कुनै पनि किसिमका कारबाही सुरु हुँदा सक्रिय अभिव्यक्ति दिने विभिन्न समूह तथा संस्थाहरू यस घटनामा उठिरहेका सम्भावित आत्महत्या दुरुत्साहनसम्बन्धी गम्भीर प्रश्नमा मौन देखिनु चासो र चिन्ताको विषय बनेको जनाएका छन् ।
‘घटनाको निष्पक्ष छानबिन गरी यदि कसैको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब, दुरुत्साहन, गैरजिम्मेवार व्यवहार वा संस्थागत लापरवाही प्रमाणित भएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न सम्बन्धित निकाय समक्ष माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
कर्मचारी संघसंस्थाले प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थमन्त्री, अर्थ मन्त्रालय, युवा, श्रम तथा रोजगारमन्त्री र मन्त्रालय, नेपाल राष्ट्र बैंका गभर्नर, नेपाल बैंकर्स संघलगायतको ध्यानाकर्षण गराएका छन् ।






